काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको दाबी गरेका छन्।
शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो जिकिर गरेका हुन्।
‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र रु त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ,’ पोखरेलको भनाइ छ।
१० पुसमा बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीको साधारण सदस्यसमेत नहरने गरी कारबाही गर्ने निर्णय गरेको थियो। रावल एमालेको मूल्य मान्यता र अनुशासनभित्र बस्न नसकेको आरोप पोखरेलले लगाए।
संसदमा रहँदाकै बेला ह्विप उल्लंघन गरेकै दिनबाट भीम रावलले एमाले छाडिसकेको पोखरेलको भनाइ थियो। संसद विघटनपछिको परिस्थितिमा नेकपाको प्रचण्ड र माधव नेपाल पक्षधरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरु विपक्षमा उभिएका थिए।
रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने तर आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलले आरोप छ।
‘आफू जिम्मेवारीमा रहँदा जंगी अनुशासन लगाउने मान्छे, आफू चाहिँ जिम्मेवारीमा बस्नु पर्दैनरु’, पोखरेलले प्रश्न गरेका थिए।
एमालेले रावललाई सुध्रिने अवसर दिए पनि उनी नसुध्रिएको पोखरेलले बताए। पार्टीले स्पष्टीकरण सोध्दासमेत त्यसलाई रावलले बेवास्ता गरेको पोखरेलले बताए। त्यसको अर्थ उनले पार्टी छाडिसकेको पोखरेलको भनाइ छ।














