रवि लामिछानेको बयान सकियो, थुनछेक बहस पनि आजै



काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो साढे १२ बजे सुरु भएको लामिछानेको बयान सकिएको हो।

काठमाडौँको कालीमाटी सहकारी संस्थाको बचत रकम अपचलन गरेको मुद्दामा रवि लामिछाने अभियुक्त छन्। बयान सकिएलगगत्तै थुनछेक बहस सुरु गर्ने तयारी गरिएको छ।

बहसका लागि लामिछानेले २० वकिल तयार पारेका छन्। लामिछानेका पक्षबाट बहस गर्न २० जना वकिलले वकालतनामा लिएका हुन्।

रवि पक्षका अधिकांश वकिलहरू काठमाडौँ जिल्ला अदालत पुगिसकेका छन्। रास्वपाको अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेले रवि पक्षका वकिल जुटाएका हुन्।

‘२० जना पुगिसक्यौँ। थप साथीहरू पनि आउन इच्छुक हुनुहुन्छ,’ न्यौपानेले भने। जाहेरवालाले पनि कानुन व्यवसायी थप्न सक्ने भएकाले बहस लम्बिने देखिएको छ।

वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ताहरू सुशील कुमार पन्त, रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा नारायण घिमिरे, अधिवक्ताहरू डा नारायण कँडेल, यज्ञमणि न्यौपाने, सुदीज्ञ पन्त, हरिचन्द्र भट्टराई, टीका ढकाल, गणेश शर्मा, मनिषा गौतम, मधु चौलागाईँसहितका वकिलले रविको पक्षमा पैरवी गर्ने भएका छन्।

प्रकाशित मिति : पुस २८, २०८१ आईतबार  २ : ५१ बजे