युद्धविराम सुरु भएपछि इजरेल र हमास के गर्दै छन्, गाजाको पछिल्लो अवस्था के छ ?



काठमाडौं । हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत इजरेलले अधीनस्थ वेस्ट ब्याङ्कस्थित एक कारागारबाट ९० जना प्यालेस्टिनीलाई मुक्त गरेको छ।

दुईवटा बसमा राखेर उनीहरूलाई जेलबाट बाहिर लगिएको थियो।मुक्त भएका बन्दीलाई सयौँ प्यालेस्टिनीले उल्लासपूर्वक स्वागत गरे। इजरेलले रिहा गरेका बन्दीमा अधिकांश महिला छन्।

इजरेलले मुक्त गरेका बन्दीहरूमा प्यालेस्टिनी राजनीतिज्ञ खालिदा जरार पनि रहेको विभिन्न समाचारसंस्थाहरूले जनाएका छन्।उनलाई रमल्लाहमा उनका आफन्त र शुभचिन्तकहरूले स्वागत गरिरहेको तस्बिरहरू पनि सार्वजनिक भएका छन्।

जरार ‘पप्यलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन’की प्रभावशाली नेता हुन्। उक्त सङ्गठनलाई इजरेल, अमेरिका र युरोपेली सङ्घले “आतङ्कवादी सङ्गठन” भनेका छन्।

उनी कैयौँ पटक जेलमा पर्दै र छुट्दै आएकी छन्।यसअघि उनलाई भिडलाई उक्साएको आरोपमा सजाय पनि भएको थियो।

हमासद्वारा तीन बन्धक मुक्त

त्यसअघि आइतवार प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा बन्धक बनाइएका तीन जनालाई मुक्त गरेको थियो।

गाजामा कार्यरत रेडक्रसमार्फत् इजरेली सेनालाई हमासले बन्धकहरू बुझाएको हो।मुक्त गरिएका तीन बन्धकमा ३१, २८ र २४ वर्षका महिला छन्।

त्यसमध्ये दुई इजरेली र एक ब्रिटिश तथा इजरेली दुवै नागरिकता भएकी महिला हुन्।हमासबाट मुक्त भएका उनीहरूलाई अहिले तेल अभिभस्थित अस्पतालमा उपचार गरिँदै छ। उनीहरूको अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्। बीबीसिबाट

प्रकाशित मिति : माघ ७, २०८१ सोमबार  ३ : ३४ बजे