सिन्धुलीमा सवारी दुर्घटनाः चालकको मृत्यु, ६ जना घाइते



सिन्धुली – सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा चालकको मृत्यु भएको छ।

बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँ खर्क नजिक आज बिहान भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

झापाबाट काठमाडौं जाँदै गरेको वा १–०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये २ पुरुषको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट ४ पुरुष र दुई महिलाको उद्धार गरिएको छ।

सडकबाट बस अन्दाजी चार सय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाइ भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार  ९ : २४ बजे