मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन



मनाङ – जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।

उनले भने, ‘डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।’ डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चाँैरीका चरन क्षेत्र नष्ट भएका उहाँले बताउनुभयो ।

‘आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ’, प्रजिअ आचार्यले भन्नुभयो, ‘साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।’ जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहनुभएको उनले जानकारी दिए।

कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उनले बताए। अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उनले उल्लेख गरे।

प्रकाशित मिति : माघ २७, २०८१ आइतबार  १२ : १८ बजे