वासिङटन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन्। यो उनले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृङ्खला हो।
एयरफोर्स वन विमानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने स्टिलमा करको दर लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताए।
सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि भन्दै ट्रम्पले यस्तै शुल्क लगाएको थियो।
यसलाई उनले एसियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेका कारण भन्सार लगाउनुपरेको बताएका छन्।
अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र एलुमिनियम आयातको सबैभन्दा ठूलो स्रोत हो।
ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन्। क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसकेका छन्।
ट्रम्पले आइतबार अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बढाउने बताएका थिए।
‘हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ’, ट्रम्पले भने। उनले मङ्गलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताए।
राष्ट्रपतिले पदभार सम्हाले लगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाएका छन्।
क्यानाडा र मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोकेका थिए। तर चीनविरुद्धको भन्सार भने अघि बढ्यो। मङ्गलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनहरूमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ।
बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यास जस्ता केही अमेरिकी उत्पादनहरूमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ।
गोल्डम्यान स्याक्सका अनुसार नयाँ चीनले बढाएको भन्सारका कारण १४ अर्ब डलर बढी पर्नेछ भने ट्रम्पले घोषणा गरेको भन्सारका कारण ५ खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामान प्रभावित हुनेछन्।
ट्रम्पले युरोपेली सङ्घ ९इयु०का सदस्य राष्ट्रबाट हुने आयातमा पनि कर लगाउने बताएका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले आइतबार प्रसारित एक अन्तर्वार्तामा युरोपप्रति गरिएको वित्तीय धम्कीको विषयमा ट्रम्पसँग सीधा मुकाबला गर्ने बताएका थिए। यद्यपि उनले संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घको सट्टा चीनमाथि आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने बताए।
म्याक्रोंले सिएनएनमा युरोपमाथिको कुनै पनि भन्सारको प्रभाव अमेरिकीहरूले महसुस गर्नेछन् भन्दै यसले ‘अमेरिकामा लागत बढाउने र मुद्रास्फीति सिर्जना गर्ने’ चेतावनी दिए।
शुक्रबार जापानी प्रधानमन्त्री शिगेरु इशिबासँगको मैत्रीपूर्ण बैठकमा ट्रम्पले टोकियोलाई जापानसँगको अमेरिकी व्यापार घाटा शून्यमा नझारेसम्म निर्यात गरिएका सामानमा भन्सार लाग्नसक्ने चेतावनी दिए।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्त राज्यको व्यापार घाटा गत वर्ष बढेर करिब ९ खर्ब २० अर्ब डलर पुगेको छ।
संयुक्त राज्य अमेरिकाका लागि ‘नयाँ स्वर्ण युग’ को वाचा गर्नुभएका ट्रम्पले कुनै पनि शुल्कको प्रभाव अमेरिकी उपभोक्ताहरूलाई नदिई विदेशी निर्यातकर्ताहरूले वहन गर्ने कुरामा जोड दिएको छ। यद्यपि धेरै विज्ञहरूले यसको विपरीत बताएका छन्।
तर यस महिनाको सुरुमा मेक्सिको, क्यानाडा र चीनमाथि भन्सार घोषणा गरेपछि उनले अमेरिकीहरूले आर्थिक ‘पीडा’ महसुस गर्न सक्ने स्वीकार गरे।
ट्रम्पले आफ्ना व्यापक नीतिगत लक्ष्यहरू हासिल गर्न भन्सारलाई धम्कीको रूपमा प्रयोग गरेको आरोप लाग्ने गरेको छ। सबैभन्दा पछिल्लो पटक उनले कोलम्बियाले निर्वासित आप्रवासीहरू बोकेका अमेरिकी सैन्य विमानहरूलाई फर्काउँदा त्यसमाथि भन्सार लगाउने बताएका थिए।
ट्रम्पसँगको एक दिनको टकरावपछि कोलम्बियाली सरकार पछि हटेको थियो।














