विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई माओवादीले नै ठूला दल बनाएको दाबी गरेका छन्। विराटनगरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कांग्रेस(एमाले आफैं ठूला नभएका बताए।
‘कांग्रेस र एमालेलाई पछिल्लो समय ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो। देशको आवश्यकता अनुसार समझदारीबाट जाऔं भन्ने जिम्मेवारी बोधका कारणले हामीले उनीहरूलाई ठूलो बनाएको हो। उनीहरू आफैं ठूलो भएका होइनन्, जब हामीले छौड्यौं उनीहरू ठूलो हुन पनि छोडे।’
पछिल्लो समय भएको उपचुनावको उदाहरण दिँदै माओवादीले साथ छोडेपछि कांग्रेस(एमाले खस्किँदै गएको उनले दाबी पनि गरे।
अहिले गठन भएको सरकारलाई अप्राकृतिक बताएका प्रचण्डले यो सरकार आफ्नै बोझले ढल्ने दाबी पनि गरे। ‘उनीहरू ०८४ सम्म बसे पनि हामीलाई कुनै टेन्सन छैन। हामी जनताको बिचमा जान्छौँ। हाम्रो वर्गतिर, हाम्रो मुद्दा, सहिद परिवार, बेपत्ता परिवारतिर फर्किएका छौँ,’ उनले भने, ‘त्यसले एउटा ऊर्जा पैदा भएको छ। त्यसकारण हामी सरकार अहिले ढाल्ने र बनाउने खेलमा चाहिँ बिल्कुलै छैनौँ।’
पूर्वराजालाई आफूले कुनै महत्त्व नदिएको पनि उनले पत्रकारहरूसँग बताए। ‘मानिसहरूले प्रतिक्रिया दिइरहेका छन्। किनभने इतिहासबाट हामी धेरै अगाडि बढिसक्यौँ। जनताको चेतना, आन्दोलन र परिस्थिति पनि धेरै अगाडि बढिसकेको छ। कसैले उनलाई बोल्न लगाएका होलान्,’ उनले भने, ‘जसले नजिक बसेर केही पाउला भन्ने हिसाबले केही बोल्न लगाएका होलान्।’
यो देशमा फेरि राजतन्त्र फर्किने कुरा असम्भव भएको पनि उनले बताए।
पत्रकारले फरक प्रसंगमा सोधेको प्रश्नमा उनले बालेन नै कार्यकारी राष्ट्रपतिका रूपमा आए पनि फरक नपर्ने बताए। उनले भने, ‘के बिग्रन्छ र रु मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु। त्यसबाट म दायाँबायाँ पनि छैन। उनीहरूलाई त म आफ्नै मान्छे ठान्छु।’
गत उपचुनावमा कोशीका ८ पदका लागि भएको चुनावमा एक्लै लड्दा पनि माओवादी पहिलो दल भएको बताउँदै उनले माओवादीले साथ छोड्दा कांग्रेस एमाले सानो हुँदै गएको बताए। उनले पत्रकारलाई प्रश्न गर्दै भने, ‘उपचुनाव त यहाँ धेरै ठाउँमा भएको थियो। ग्रामथानमात्रै त होइन। ८ ठाउँमा चुनाव भयो हामी एक नम्बर पार्टी भयौं। कसरी भयौं रु अघिल्लो रेकर्ड हेरेर हुन्छ रु’
पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सुशासनको अभियान चलाउँदा भ्रष्टाचारीहरूले आफ्नो सरकार ढलाएको बताए। त्यही भ्रष्टाचारविरुद्धको अभियानलाई अहिले जनतामाझ लिएर गएको उनको भनाइ छ।
अहिले आफूहरू विशेष अभियानअन्तर्गत हुलाकी राजमार्गकेन्द्रित पूर्वपश्चिम तराई–मधेस जागरण अभियानमा रहेको र क्रमशः कञ्चनपुरसम्म पुग्ने उनले बताए।










