ट्रम्पसँग तनावपूर्ण कुराकानीपछि ह्वाइटहाउसबाट निकालिए जेलेन्स्की !



काठमाडौँ । एजेन्सी – अमेरिकी राष्ट्रपतिसँगको तनावपूर्ण कुराकानीपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई ह्वाइटहाउसबाट निकालिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच शुक्रबार राति ह्वाइट हाउसमा भेटवार्ता भएको थियो ।

उक्त क्रममा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीबीच चर्को बहस भयो।दुई नेताबीच करिब ५० मिनेट वार्ता भएको थियो । यस अवधिमा नेताहरूले एकअर्कामा थुप्रै पटक औंलासमेत उठाएका थिए। ह्वाइट हाउसको इतिहासमा दुई राष्ट्र प्रमुखबीच यस्तो तनावपूर्ण कुराकानी भएको यो पहिलो पटक हो ।

भेन्सले जेलेन्स्कीमाथि अमेरिकाको अपमान गरेको आरोप लगाए । योसँगै ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई पटकपटक गालीसमेत गरेका थिए। ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्धमा जुवा खेलेको’ आरोपसमेत लगाउन भ्याए ।

यसपछि, क्रोधित जेलेन्स्की कुराकानीबाट उठे र बाहिर निस्किए। आफ्नो कालो एसयूभी गाडीमा बसेर होटलतर्फ लागे।यो वार्तालाप दुई नेताबीच खनिज विषयमा सम्झौता हुने भन्ने विषयमा थियो। तर वार्ता नै रद्द भयो।

जेलेन्स्की राति १० बजे ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुगेका थिए। ट्रम्प ढोकामा आएर स्वागत गरे । दुवैले हात मिलाए, त्यसपछि ट्रम्पले जेलेन्स्कीतर्फ औंल्याए र मिडियाको अगाडि भने, ‘उनी आज राम्रो तयारी गरेर आएका छन्।’

दुवै राष्ट्रपति ह्वाइट हाउसको ओभल हाउस पुगेका थिए । यहीँ मिडियामा दुवैबीच कुराकानी सुरु भयो । ट्रम्पले आफू र जेलेन्स्की मिलेर रुस र युक्रेनबीच युद्ध रोक्नु राम्रो हुने बताएका थिए । जेलेन्स्कीले ट्रम्पलाई युद्धका तस्बिरहरू पनि देखाए।

जेलेन्स्कीले भने– शान्ति सम्झौतामा पुटिनसँग कुनै सम्झौता हुनु हुँदैन

ट्रम्पसँगको कुराकानीका क्रममा जेलेन्स्कीले भने, ‘शान्ति सम्झौतामा रुसी राष्ट्रपति पुटिनसँग कुनै सम्झौता हुनुहुँदैन । यसबारे ट्रम्पले भने, ‘हामी यो युद्ध जतिसक्दो चाँडो अन्त्य होस् भन्ने चाहन्छौं। आशा छ हामीले थप सेना पठाउनु पर्दैन। म खनिज सम्झौताको प्रशंसा गर्छु किनभने हामीलाई यसको आवश्यकता थियो। हाम्रो देशमा अहिले निष्पक्ष व्यवहार भइरहेको छ।’

यदि आफूले रुस र युक्रेन दुवैसँग समन्वय नगरेको भए कुनै सम्झौता सम्भव हुने उनको भनाइ थियो। ‘म न पुटिनसँग छु न अरू कसैसँग। म अमेरिकासँग मात्र छु,’ उनले त्यहाँ भनेका थिए।

ट्रम्प र जेलेन्स्कीबीच त्यहाँ करिब ३० मिनेटसम्म कुराकानी भएको थियो । त्यसपछि वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स मिसिए। उनले कुराकानीमा अवरोध गरे।

उनले भने, ‘युक्रेनमा शान्ति र समृद्धिको बाटो कूटनीतिबाट मात्रै पाउन सकिन्छ । राष्ट्रपति ट्रम्पले त्यही गरिरहेका छन् । तपाईंको बानी धेरै अपमानजनक छ। यो साँचो कूटनीति होइन। यो युद्ध रोक्न तपाईंले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुपर्छ।’

सन् २०१४ मा सुरु भएको रुस–युक्रेन युद्ध रोक्न धेरै वार्ताहरू भइसकेका छन्। सन् २०१९ मा आफूले एउटा सम्झौतामा हस्ताक्षर गरेको र युद्धविराम लागू हुने आश्वासन दिइयो जेलेन्सीले भान्ससँग बताए। दुवै पक्षका युद्धबन्दीहरूलाई रिहा गर्ने सम्झौता गरे पनि पुटिनले यो सम्झौता तोड्दै २०२२ मा ठूलो आक्रमण गरेका उनले त्यहाँ सुनाए।

यो पूरै घटनापछि पनि जेलेन्स्कीले आफ्नो पोस्टमा अमेरिकालाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘धन्यवाद अमेरिका, सहयोगका लागि धन्यवाद, यो भ्रमणका लागि धन्यवाद । अमेरिकी राष्ट्रपति, कांग्रेस र अमेरिकी जनतालाई धन्यवाद। युक्रेनलाई न्यायोचित र दिगो शान्ति चाहिन्छ, र त्यसका लागि हामीले काम गरिरहेका छौँ।’

जेलेन्स्की र ट्रम्पबीचको उक्त भेटमा खनिजको विषयमा सम्झौता हुने थियो तर यो सम्झौता रद्द भयो। युक्रेनले अमेरिकालाई दुर्लभ खनिज सामग्री उपलब्ध गराउन सहमत भएको थियो। यो सम्झौताको बदलामा अमेरिकाले युक्रेनको पुनर्विकासमा सहयोग गर्ने बाचा गरेको थियो।

ट्रम्पले पछिल्लो एक महिनादेखि युक्रेनलाई दुर्लभ खनिज उपलब्ध गराउन दबाब दिइरहेका थिए । यदि त्यसो भएन भने, यो अमेरिकी कोष रोक्न धम्कीसमेत दिएका थिए।

प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार  १ : ३१ बजे