विराटनगर । प्रतिनिधि छनोट र सर्वसम्मत हुन नसकेपछि नेकपा एमाले मोरङको दशौं जिल्ला अधिवेशन लम्बिने भएको छ ।
१७ गतेबाट तीन दिनका लागि सुरु भएको अधिवेशनमा हालसम्म प्रतिनिधि छनोटको विवाद मिल्न नसकेको एक पदाधिकारी बताउँछन् ।
शीर्षदेखि प्रदेश कमिटिका पदाधिकारीहरूले अधिवेशनमा सहमतिको प्रयास जारी राखेपनि जिल्ला नेतृत्वका लागि हालसम्म संस्थापन पक्षतर्फ पार्टी अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट पक्षतर्फको नेतृत्व मोरंगका नेता विनोद ढकालले गरेका छन् ।
ढकाल पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकटस्थ मानिन्छन् । हाल दुई समूह प्यानलनै बनाएर प्रतिस्पर्धामा उत्रिने देखिएको छ । यससंगै नयाँ नेतृत्व छनोटका लागि निर्वाचन कार्यतालिकासमेत सार्वजनिक भएको छ ।
तालिका अनुसार, सोमबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया प्रारम्भ भइसकेको छ ।सोमबार बिहान १० बजेपछि मनोनयन दर्ता गर्ने र दिउँसो २ः४५ बजेदेखि ५ बजेसम्म नयाँ नेतृत्वका लागि मतदान गर्ने कार्यसूची छ । मतदान गणना भने एमाले जिल्ला कार्यालय पाञ्चनालीको भवनमा हुने तय भएको छ ।














