चुनावमा बहुमत ल्याउने स्थिति छैन,कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ: शेरबहादुर देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा बहुतम ल्याउने स्थिति नभएको बताएका छन्।

प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई रुपन्देहीमा सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन्।

तर अघिल्लो चुनावभन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न देउवाले नेता कार्यकर्तालाई निर्देशन दिए।

‘बहुमत ल्याउन नसकेपनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ,’ उनले भने, ‘कांग्रेसका प्रति देशभित्र र बाहिर आकर्षण छ।’ कांग्रेसलाई जीवन्त पार्टीका रूपमा अघि बढाउनुपर्ने पनि बताए।

‘हामी बीचमा कतिपय कुरा नमिलेका हुन सक्छन् । यी सबै कुराहरुलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेन्ट पार्टीका रुपमा अगाडि बढाउन सक्नुपर्दछ,’ देउवाले भने।

उनले वर्तमान सरकार सफल हुने दाबीसमेत गरे। सत्तामा प्रमुख दल कांग्रेस–एमाले भएपनि अन्य दलको पनि सहभागी हुनु राम्रो कुरा भएको बताए।

उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानले प्रतिनिधि सभा क्षेत्रीय सभापति र क्षेत्रीय प्रशिक्षक शाखा प्रमुखका लागि प्रशिक्षण राखेको हो।

प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार  १ : ३८ बजे