काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’को गीत रक अनु युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताए ।
यस गीतमा ‘होस्टेल ३’का प्रमुख कलाकारहरू पारस बम कुलब्वायु र रिहान गिरीको साथमा समीर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको छ । एरेन्ज योगेश काजीले गरेका छन् ।
होस्टेल ३ुले पहिलो हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो । यो चलचित्र हाल नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा समेत प्रदर्शन भइरहेको छ भने नेपालीहरूको बसोबास रहने प्रायस् सबै देशहरूमा रिलिज हुने निर्देशक कँडेलले बताए । इमिरेट्स, बहराइन, कतार तथा अस्ट्रेलियाबाट पनि यसको व्यापारको चर्चा आइरहेको छ ।
गत बिहीबार रिलिज भएयता होस्टेल ३ुको व्यापारको रफ्तार गजबको देखिएको छ । दोस्रो हप्ताको शनिवार पनि चलचित्रको व्यापारमा कुनै कमी नआएको निर्देशक कँडेलले बताए । हामी निरन्तर हल भिजिटमा छौँ र वितरकबाट पनि व्यापार रिपोर्ट लिइरहेका छौँ । दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ । दोस्रो शनिवार त झनै व्यापक माहौल देखियो, कँडेलले भने ।
यस चलचित्रमा पारस बम कुलब्वायु, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।
यस चलचित्रमा माधव शर्माको पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।














