काठमाडौँ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अवरोध गरेपछि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको थियो।
त्यसपछि पनि सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा बैठक ४ बजे अर्को सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।
विपक्षीहरूले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ दिनुपर्ने बताइरहेका छन्। तर, प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिन आउन अस्वीकार गरिरहेका छन्।
विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रधानमन्त्रीले जवाफ दिन्न भन्ने गर्दा सदन अवरुद्ध हुँदै आएको हो।














