रवि लामिछानेको सांसद पद फुकुवाको माग सभामुखले गरे अस्विकार



काठमाडौं । सभामुख देवराज घिमिरेले रास्वपा सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन् । मंगलबार आफूलाई भेट्न आएका लामिछानेसहित रास्वपाका नेताहरूलाई घिमिरेले निलम्बन आफूले नगरेको स्पष्ट पार्दै निलम्बन फुकुवा गर्न नसक्ने बताएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

सभामुखको भनाइपछि लामिछाने बिदा मागेर बाहिरिएका थिए । बाहिरिएपछि सभापति लामिछानेले मंगलबार सभामुख देवराज घिमिरेसँग सिंहदरबारमा भएको भेटमा आफ्नो सांसद पदको फुकुवाको माग राखेको जानकारी दिए ।

त्यस्तै उनले अदालत टेकाएको आधारमा सांसद पदको निलम्बन राजनीतिक हतियारको रुपमा प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुने चिन्ता सभामुख घिमिरेले देखाएको पनि उनले जानकारी दिए ।

उनले भने,‘राजनीतिक प्रतिसोधका कारणले सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भनेर दुषित मनसाय राखि अदालतमा टेकाएका आधारमा निलम्बन हुनुहुँदैन् भन्ने कुरा मैंले राखें । राजनीतिक हतियार प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुन्छ भन्ने कुरामा उहाँ गम्भीर हुनुहुन्छ ।’

आफूलाई चितवनबासीले दुई दुई पटकसम्म जिताएर पठाएको भन्दै थुनामा नरहेको अवस्थामा आफ्नो पद खाली हुन नसक्ने उनको दाबी छ ।

प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार  ११ : ५९ बजे