गृहमन्त्री लेखकले भने- तीनकुने घटना आपराधिक, घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्छ



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शन आपराधिक घटना भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै तीनकुने घटनाको विश्लेषण गर्दा नियोजित रूपमा आतङ्क र अराजकता फैलाउने आपराधिक तथा विध्वंसात्मक कार्य भएको बताएका छन् ।

काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो भने सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो ।

गृहमन्त्री लेखकले भने, ‘तीनकुने घटनाको सबै घाइतेहरूको सरकारले निस्शुल्क उपचार गर्ने व्यवस्था मिलाएको जानकारी गराउँछु। उपचार गराइरहेका घाइतेलाई सिभिल, बिएण्डबी, केएमसी र ट्रमा अस्पताल पुगेरै मैले भेटेको छु,’। उनले घाइतेहरूको उपचार गर्न सम्बन्धित अस्पताल बाहिरबाट पनि औषधि किन्नु परेको र त्यसबाट खर्च भइरहेको परिवारजनबाट गुनासा आएकोले त्यस्ता औषधिको खर्च पनि सरकारले नै व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।

उनले तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको पनि बताए।

प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार  २ : २७ बजे