शक्तिशाली आयोग बनाएर पूर्वराजादेखि सत्तामा बसेका अरु सबैको सम्पत्ति छानविन गरौं गगन थापा



काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालदेखि अहिलेसम्म सत्तामा बसेका र पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सम्पत्ति छानविन गरिनुपर्ने बताएका छन् ।

आज ९शुक्रबार० कांग्रेस भोजपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानविन गर्न शक्तिशाली आयोगको प्रस्ताब गरेका हुन् ।

०४६ सालपछि नेपालमा कांग्रेस, एमाले, माओवादी, राप्रपा मात्र नभएर पूर्वराजाले पनि शासन गरेको भन्दै सबैमा छानबिन गर्नुपर्ने बताए । “०४६ पछाडि नेपालमा कांग्रेसले पनि शासन गर्‍यो, एमालेले गर्‍यो, राप्रपाले गर्‍यो, माओवादीले गर्‍यो हुँदा हुँदा पूर्वराजाले पनि गरे, नयाँ भनिएकाहरू पनि शासन सत्तामा बसिसकेका छन्,” थापाले भने, “शक्तिशाली आयोगबाट यो देशमा लाभको पदमा बसेका सबै मानिसको तीनपुस्ते सम्पत्ति हेरौँ, आयव्यय हेरौँ ।”

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्नसमेत उठाए । आयोगले अनुसन्धान गरेको विषय छापामा ल्याउने गरेको र वर्षौंसम्म ‘तँलाई थुन्दिउ’ भनेर नै बिताउने गरेको उनको टिप्पणी थियो ।

महामन्त्री थापाले ०४६ पछाडि कांग्रेस, एमाले, माओवादी र नयाँ भनिएका दलहरु पनि सत्तामा पुगिसेको बताए । सत्तामा पुगेका सबैको सम्पत्ति छानविन गर्दा कांग्रेसको जो–जो परेपनि आफूहरुलाई स्वीकार रहेको र त्यसको भारी पार्टीले नबोकेर स्वयं व्यत्तिले बोक्ने महामन्त्री थापाले बताए ।

प्रकाशित मिति : चैत्र २८, २०८१ शुक्रबार  ८ : ५६ बजे