काठमाडौँ । सत्ताको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गभर्नरमा सिफारिस समितिकै सदस्य डा विश्व पौडेललाई अघि सारेको छ।
२०८१ फागुन २४ गते अगावै गभर्नरको नाम सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि कांग्रेस र एमालेले गभर्नर हुने व्यक्तिको नाम टुंगो लगाउन नसक्दा सिफारिस समितिकै सदस्य डा पौडेललाई बनाउन प्रस्ताव गरेको हो।
गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उक्त बैठकमा गभर्नर सिफारिस समितिकै सदस्य डा विश्व पौडेललाई गभर्नर बनाउन देउवाले ओलीसँग प्रस्ताव गरेको बालुवाटार स्रोतको भनाइ छ।
गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल भएकाले प्रक्रिया लम्ब्याउने काम भइरहेको आरोप लागेका बेला कांग्रेस सभापति देउवाले पौडेलको नाम अघि सारेका हुन्। डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन्। यसअघि सार्वजनिक मञ्चबाट नै देउवाले कांग्रेसको भागमा गभर्नर परेको बताएका थिए।
ओली र देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो। उक्त समझदारी भएपछि वैशाख ५ गते राष्ट्र बैंककै कार्यकारी निर्देशक पदमा कार्यरत रहेका भट्टले राजीनामा दिएका थिए। तर उनको राजीनामा स्वीकृत नभएपछि देउवाले सिफारिस समितिका सदस्यलाई नै गभर्नर बनाउने अभ्यास थालेका हुन्।
शनिवारको ओली(देउवा छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा पनि सहभागी थिए। गभर्नर नियुक्तिमा कुनै विवाद नभएको र अब एक सातामा नयाँ गभर्नर आउने दाबी बैठकमा सहभागी एक नेताको छ।
गत चैत २४ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको थियो। अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा नीलम ढुंगानालाई कायममुकायम गभर्नर बनाइएको छ। उनी आफैँ पनि गभर्नर बन्ने दौडमा छिन्। देउवा र ओलीबीच आफूभन्दा जुनियर भट्टलाई गभर्नर बनाउने समझदारी सार्वजनिक भएपछि नीलमले भट्टको राजीनामा स्वीकृत नगरिदिएर अड्काएकी छन्।
गभर्नर सिफारिस समितिका सदस्य पौडेललाई तत्काल सिधै गभर्नर नियुक्त गर्न मिल्दैन। गभर्नरमा पौडेलको टुंगो लागे उनले सिफारिस समितिबाट राजीनामा गर्नेछन्। त्यसपछि अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्का एक सदस्य थपिनेछन्। मन्त्रिपरिषदले सिफारिस समितिबाट पौडेलको राजीनामा स्वीकृत गर्ने र उनको स्थानमा अर्को सदस्य नियुक्त गर्नेछ। त्यसपछि मात्रै अर्थमन्त्री पौडेल नेतृत्वको सिफारिस समितिले डा पौडेलसहित तीन जनाको नाम क्याबिनेटमा सिफारिस गर्नेछ। अनि मात्र गभर्नर नियुक्तिको चक्र पूरा हुन्छ। आगामी सोमवारको मन्त्रिपरिषद् बैठकबाट विश्वको राजीनामा स्वीकृत गरेर नयाँ सदस्य तोक्ने र बिहीबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर बनाउनेसम्मको समझदारी शनिवारको बालुवाटार बैठकमा बनेको स्रोतको दाबी छ।
शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा देउवाले भट्टको राजीनामा स्वीकृत नभएकाले अर्को व्यक्तिलाई प्रस्ताव गर्नुपर्ने बताएका थिए। कांग्रेसका केही पदाधिकारीले भने कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्ने काममा प्रधानमन्त्री ओलीकै भूमिका रहेको भन्दै आशंका व्यक्त गरेका थिए।
सरकारले गभर्नर नियुक्तिको सिफारिस गर्न ११ चैतमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वको समितिको सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष डा। विश्व पौडेल रहेका थिए। तर, सिफारिस समितिको बैठक एकपटक पनि बस्न नसकेको र ओली र देउवाको निर्देशनअनुसार आफूहरूले गभर्नर सिफारिस गर्नुपर्ने गरी सिफारिस समितिलाई नै पंगु बनाउन खोजिएको आरोप लगाउँदै पूर्वगभर्नर भट्टराईले सदस्य पदबाट राजीनामा दिए। उनको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरिएको छ।
सिफारिस समितिले पूर्णता पाए पनि बैठक भने बस्न सकेको छैन। समितिले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरमध्येबाट तीनजनाको नामावली नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्ने कानुनी व्यवस्था रहेको छ।














