भोटेकोशी बाढी : १,३८५ को शव भेटियो, ५ हजार १ सय ३० जना अझै बेपत्ता



काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा गत २६ अगस्टमा आएको विनाशकारी बाढीको १७औँ दिनसम्म आइपुग्दा १ हजार ३ सय ८५ जनाको शव फेला परेको र ५ हजार १ सय ३० जना अझै बेपत्ता रहेको सरकारले औपचारिक जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले रसुवा, नुवाकोट र धादिङलगायतका तटीय क्षेत्रमा बाढीले अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको बताउँदै बेपत्ता हुनेहरूमा ३५ देशका करिब ६ सय विदेशी नागरिकसमेत रहेको जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले हालसम्म बाढीग्रस्त क्षेत्रहरूबाट ३२० भन्दा बढी विदेशीसहित कुल १३ हजार ६ सय ७६ जनालाई जीवितै उद्धार गरिएको बताए।

‘खोजी तथा उद्धार कार्य अहिले पनि निरन्तर जारी रहेकाले हताहती र बेपत्ताको यो संख्या अझै अद्यावधिक हुन सक्छ, प्रवक्ता क्षेत्रीले भने, शवहरूको वैज्ञानिक पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन र विश्लेषणमा जुटिरहेका छन्। भविष्यमा डीएनए परीक्षणका आधारमा आफन्तलाई बुझाउन सहज होस् भनेर अहिले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवहरूलाई अस्थायी रूपमा समाधिस्थ (गाड्ने) काम भइरहेको छ ।”

प्रकाशित मिति : भाद्र २६, २०८३ शुक्रबार  ८ : ५१ बजे