काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सहकारी ठगी प्रकरणमा जोडिएकी राईलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
वैशाख १३ गते राती राई काठमाडौँ कपनस्थित आफ्नै निवास पक्राउ परेकी थिइन्। उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको कार्यसमिति सदस्य र सचिव पदमा रहँदा २ करोड ४० लाख रकम अपचलन भएको थियो।
उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलवार ३७ लाख २५ हजार बिगो माग दाबीसहित मुद्दा दर्ता गरेको थियो।काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनलाई प्रहरीले पक्राउ गरेको थिएन। पक्राउ पुर्जी जारी भएको अवस्थामा पनि उनी प्रतिनिधि सभामा पनि उपस्थित भएकी थिइन्।
राइलाई सत्ताको आडमा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो।
मंगलवार राईसमेत २१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।राईसमेतका व्यक्तिले उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।









