प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पालिकाको वडा नम्बर २ स्थित पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो।

सडक निर्माणका क्रममा २१ लाख ६३ हजार ८५६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ।

उक्त रकम बिगो कायम गरी जनही सोही रकम असुल उपर गरी कैद सजायको मागसमेत गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सडक निर्माणका क्रममा अनियमितता गरेको पाइएपछि पालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली, प्राविधिक दलबहादुर ओली,लेखापाल महेन्द्र शर्मा र पिपलकाँडा मेलगौरी सडक योजनाको निर्माण कार्य गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र सोका प्रोपाइटर शान्तबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो।

अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीहरूको हस्ताक्षर नै नभएकाले यसमा मिलेमतोमा भ्रष्टाचार भएको आशंका गरिएको थियो। अख्तियारको अध्ययनमा मापदण्ड विपरीतको काम भएको देखिएको छ।

प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार  ५ : ४७ बजे