काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् ।
अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर रहेर व्यक्तिगत चरित्र हत्या, सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य गरेको भन्दै बालेनको सचिवालयले मानन्धरलाई स्पष्टीकरण सोधेको हो ।
आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए ।
मानन्धरलगायतका वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराउने क्रममा मुख्य भूमिका खेलेका थिए । वडाध्यक्षहरूले बालेनको एकल निर्णयले महानगर नचल्ने भन्दै विरोध गर्दै आएका छन् ।









