काठमाडौं । गभर्नर बन्ने दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा अस्वीकृत भएको छ। राजीनामा अस्वीकृत भएपछि भट्टलाई गभर्नर कार्यालयमा जिम्मेवारी दिइएको छ।
‘नयाँ गभर्नर विश्वनाथ पौडेल सरले उहाँलाई फकाएर काममा फर्कने वातावरण मिलाउनुभयो। एक हिसावले भन्दा भट्ट सरलाई न्याय गर्नुभयो’ राष्ट्र बैंकका एक उच्चस्तरीय कर्मचारीले नेपाल क्लिक्ससँग भने, ‘उहाँ अब काममा फर्कनुहुनेछ।’
गभर्नर विश्वनाथ पौडेलले भट्टको राजीनामा अस्वीकृत गरेर उनलाई पुनः जिम्मेवारीमा फर्काएका हुन् ।
यसअघि अनुसन्धान विभागमा रहेका भट्टलाई पौडेलले गभर्नरको कार्यालय ल्याएपछि रिक्त रहेको अनुसन्धान विभागमाको नेतृत्व डा। रामशरण खरेललाई दिइएको छ।
यसअघि मानव संशाधन विभागमा रहेका खरेललाई अनुसन्धान ल्याएपछि खाली भएको विभागको जिम्मेवारी कार्यकारी निर्देशक विश्रुत थापालाई दिइएको छ।
राष्ट्र बैंकले भट्टलाई नयाँ जिम्मेवारी दिएको र भट्ट काम विशेषले बाहिर रहेकोले २ चार दिनमै उनले आफ्नो जिम्मेवारी बहन गर्न आउने पनि राष्ट्र बैंकले जानकारी दिएको छ।
नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गर्न मानिनन्। राजीनामा स्वीकृत नभएपछि भट्ट गभर्नर हुन पाएका थिएनन्।









