काठमाडौं, ११ जेठ । ज्यान मार्ने,कर्तव्य ज्यान र राज्यविरुद्धको अपराधसहित गम्भीर ६ मुद्दा लगाइएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारी वकिल र प्रहरीमा इन्कारी बयान दिएका छन् ।
आइतबार ९जेठ ११० जिल्ला सरकारी वकिल कार्यालयले उनीसहित ६२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सोही मुद्दाको अभियोजनमा प्रसाईंले घटनाबारे इन्कारी बयान दिएका हुन् ।
उनले आफूले कसैलाई पनि उत्तेजित बनाई तोडफोड तथा आगजनी गर्नको लागि निर्देशनसमेत नदिएको बयानमा उल्लेख छ ।प्रसाईँमाथि लागेको राज्यविरुद्धको कसुरको बयानमा उनले सबै दोष अरुमाथि खन्याएका छन् ।
उनले आफूले तिनकुनेस्थित रहेको खुल्ला चौरमा शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिई कार्यक्रमको घोषणा गरेको, घरमा तोडफोड तथा आगजनी गर्ने र गर्न लगाउने कार्यमा संलग्न नरहेको बयान दिएका छन् ।
प्रसाईँले बयानका क्रममा घरमा आगलागि गर्ने, तोडफोड गर्ने मानिसहरु सतिश न्यौपाने, गोकर्ण शाही, डण्डपाणी रेग्मी, तारा राजावादी भन्ने सरोज गौतम, हेमराज थारु, सन्तोष राजावादी भन्ने सन्तोष सिलवालसमेतका मानिसहरु रहेको बताएका छन् । उनले हुलभीडको समुहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने सन्तोष सिलवाल र उनको समूह रहेको अरोप लगाएका छन् ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा।धवल शमशेर जबरा र राप्रपाकै वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको कारण भीड उत्तेजित भएकोसमेत बयानका क्रममा बताएका छन् ।









