भिजिट भिसा प्रकरणको अनुसन्धानमा अलमल नहोस्, छानबिन हुने अवस्था आए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : गगन थापा



धरान, १४ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले भिजिट भिसा प्रकरणमा मन्त्रीमाथि नै छानबिन हुने अवस्था आएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको धरान उपमहानगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने महामन्त्री थापाको भनाइ छ ।

थापाले भने,‘विश्वास भन्दामाथि कानून र प्रमाण हुन्छ। अख्तियारले निष्पक्ष छानबिन गर्नुपर्छ भन्ने हाम्रो विश्वास रहन्छ। यो छानबिन गर्दै गर्दा त्यस्तो नहोस्, कथमकदाचित मन्त्री माथि नै छानबिन हुने अवस्था आयो भने के हुन्छ रु त्यस्तो अवस्थामा मन्त्रीले आफ्नो जिम्मेवारी छाड्नुपर्छ। जिम्मेवारीबाट अलग रहनुपर्छ र त्यो बेलामा गल्ती गरेको छ भने सजाय भोग्नुपर्छ, हाम्रो विश्वास छ त्यस्तो भएको छैन। तर विश्वास भन्दामाथि तथ्य र प्रमाण हुन्छ।’

थापाले भिजिट भिसा प्रकरण अमानवीय र अक्षम्य अपराध भएको टिप्पणी गरे । ‘यो संगठित जालो र अपराधमा संलग्न देखिएका दोषी दण्डित हुनुपर्छ । यससंगै भिजिट भिसाको नाममा हुने गरेको ठगिको धन्दा र यसको नेक्सस सधैलाई बन्द गर्न तथा यो नाममा आम नागरिकले भोग्नुपरेको सास्ति र शोषणको अन्त्य गर्न कानूनी र प्रशासनिक सुधार तत्काल गर्नु आवश्यक छ’, उनले भने ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार  ५ : २७ बजे