काठमाडौंमा निषेधित क्षेत्र थपियो : नारायणहिटी आसपास सभा, जुलुस गर्न नपाउने



राजावादीको आन्दोलन फेरि सुरु भएपछि नारायणहिटी आसपास निषेधित क्षेत्र घोषणा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार नारायणहिटी दरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र तोकिएको छ।

यस्तै दरवारमार्ग महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा निषेधित क्षेत्र घोषणा गरिएको हो । उक्त क्षेत्रमा भोलि (जेठ १७ गते) देखि लागू हुनेगरी असार २४ गतेसम्मका लागि निधेषित क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्रमा उक्त अवधिभर ५ जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता कार्य गर्न रोक लगाइएको छ ।

राजावादी समूहले हिजोदेखि काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । उनीहरुले संवैधानिक राजसंस्था, हिन्दुराज्य र संघीयता खारेजीलाई आफ्नो एजेण्डा बनाइरहेका छन् । राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन नछाड्ने राजावादीहरुको अडानको बावजुद सरकारले सम्भावित दुर्घटना रोक्न सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार  ७ : ४१ बजे