धनकुटा । लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको सडक बगाएँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान करिब साढे ५ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको करिब १०० मिटर कालोपत्रे सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार सडक बगेपछि दुवै तर्फका सवारी साधन रोकिएका छन्।
यसैगरी, सांगुरीगढी–६ स्थित नमस्ते झरनाको छेउमा पनि रुख लडेर सडक अवरुद्ध भएको थियो। यद्यपि, प्रहरीले उक्त रुख हटाएर सडक खुला गरिसकेको जनाएको छ।
उता तमोर करिडोरको सडकसमेत अवरुद्ध भएको छ। छरुवा खोलामा आएको बाढीका कारण धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित सडक खण्डमा आवागमन ठप्प भएको हो।