सदनको अवरोध अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी छलफलमा



काठमाडौँ । सदनको अवरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले अरु प्रतिपक्षी दल र सत्तापक्षका दलसँग कुराकानी गर्ने भएको छ।

बिहीवारै रास्वपासहितका विपक्षीसँग कुराकानी गरी माओवादी केन्द्रका नेताहरूले सत्ता पक्षका कांग्रेस र एमालेसँग कुराकानी गर्ने भएका हुन्।

केहीबेरमा रास्वपासहितका विपक्षी दलहरूको बैठक बस्न लागेको छ। त्यसपछि माओवादी कांग्रेस र एमालेसँग कुराकानीमा जुट्ने भएको हो।

जेठ १३ गतेयता प्रतिनिधि सभाको बैठक अवरुद्ध हुँदै आएको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग कुस्त रकम असुली गर्ने प्रकरणमा गृहमन्त्री रमेश लेखककै संलग्नता रहेको आरोप लगाउँदै रास्वपाले उनको राजीनामा माग गर्दै आएको छ।

यो प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियारले छानबिन पनि गरिरहेको छ। तर सत्ता पक्षले भने कर्मचारीमाथि छानबिन हुँदा तालुकदार मन्त्रालयको नेतृत्वले राजीनामा दिन थाले राज्यव्यवस्था सञ्चालनमा नै असर पर्ने जिकिर गर्दै आएको छ।

एमालेका सांसदहरू संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादी एकै ठाउँमा रहेको जिकिर गर्छन्।

नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने प्रयास छ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले संसद्को अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भइराखेको बताएका थिए।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार  २ : ४१ बजे