काठमाडौं । ‘अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न सकेको छैन’ भन्ने आधिकारिक सूचना चुहिएपछि अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प यतिबेला आक्रोशित बनेका छन्। यस्ता समाचारहरुलाई उनले ‘फेक न्युज’ करार दिइरहेका छन्।
तर यो विषयले अमेरिकी राजनीति र प्रशासनवृत्तमा एक प्रकारको तरङ्ग नै ल्याइदिएको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदन अनुसार इरानका आणविक स्थलहरूमा जे सोचेर आक्रमण गरिएको थियो, त्यति क्षति नभएको उल्लेख छ। पेन्टागनको रक्षा गुप्तचर एजेन्सीको मूल्याङ्कनसँग जानकार स्रोतहरूले अमेरिकी मिडियाहरुलाई बताएअनुसार शनिबारको बम विस्फोटमा इरानको समृद्ध युरेनियम भण्डार नष्ट भएन।
पेन्टागन अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय हो।
न्यूयोर्क टाइम्सले लेखेको छ, ‘इजरायलाई साथ दिन ट्रम्प प्रशासनले इरानी आणविक भट्टीहरुमा आक्रमण गर्ने निर्णय गरेको थियो। तर पेन्टागनलाई आक्रमण त्यति प्रभावकारी बन्न नसकेको रिपोर्ट मिलेको छ।’ अर्को कहलिएको समाचार संस्था सीएनएनले पनि रक्षा गुप्तचर एजेन्सीलाई उद्धृत गर्दै यो समाचार दिएका छन्।
ट्रम्पले अमेरिकी हमलाबाट इरानको परमाणु कार्यक्रम कामै नलाग्ने गरी ध्वस्त भएको दाबी गरेका थिए। रक्षामन्त्री पिट हेगसेथले पनि इरानको परमाणु भट्टिहरू पूर्ण ध्वस्त भएको बताउँदै आएका छन्।
तर समाचारहरुमा डिफेन्स इन्टेलिजेन्स एजेन्सीका एकजना गुप्तचरले इरानले परमाणु कार्यक्रम जमिनको धेरै मुनी चलाएका कारण थोरै मात्रै क्षति पुगेको स्विकारेका छन्। गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै आएका समाचार त्यसरी जमिनमुनि चलाइएका परमाणु कार्यक्रमहरू अमेरिकी आक्रमणबाट नष्ट नभएको बरू आंशिक क्षति पुगेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा उल्लेख रहेको बताएको छ।
मक्सर टेक्नोलोजिजले सार्वजनिक गरेको स्याटलाइट तस्बिरमा हमलाअघि ठूलो संख्या फर्दोको आणविक भट्टी प्रवेशद्वारमा धेरै संख्यामा ट्रकहरू देखिएको थियो। त्यसले पनि युरेनियम र महत्त्वपूर्ण उपकरण इरानले अगाडि नै अन्यत्र सारेको हुनसक्ने आकलन थियो।
सुरक्षा चासोको महत्वपूर्ण सूचना बाहिरिएपछि ह्वाइट हाउसले यो मूल्याङ्कन “पूर्णतया गलत” र राष्ट्रपति ट्रम्पलाई “बदनाम गर्ने प्रयास” भएको बताएको छ। मध्य पूर्वका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफले इरानमाथि अमेरिकी आक्रमणको बारेमा चुहावट भएको गुप्तचर आंकलनलाई ‘देशद्रोह’ भनेर वर्णन गरेका छन्।
यसबारे बीबीसीले रक्षा मन्त्रालयसँग प्रतिक्रिया मागेको थियो। बीबीसीलाई प्राप्त प्रतिक्रियामा भनिएको छ ‘यी आक्रमणहरूलाई विनाशकारी नभन्नेहरूले राष्ट्रपति र यो सफल अभियानलाई कमजोर पार्न खोजिरहेका छन्।’
समाचारहरु बाहिरिएपछि इराक आक्रमणको प्रभावलाई लिएर अमेरिकी राजनीतिमा विपक्षी खेमाले ट्रम्पको आलोचना सुरु गरेको छ। त्यसो त अधिक विपक्षीहरु इजरायललाई साथ दिने बहानामा इरानमाथि आक्रमण गर्न नहुने पक्षमा थिए। तर आक्रमणपछि ट्रम्प प्रशासनलाई अरु दवाव थपिने निश्चित छ।