काठमाडौँ । ६ महिनापछि बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमा नै सकिएको छ।महानगरका मेयर बालेन शाहले एक मिनेटमै बैठक सकिएको घोषणा गरेका हुन्।
शुक्रबार काठमाडौँ प्लाजास्थित सभा हलमा बसेको ४०औँ नगर कार्यपालिका बैठकमा २४ वटा एजेन्डा भएपनि मेयर साहले प्रस्ताव नम्बर एकको एउटा मात्र एजेण्डा राखेका थिए। उक्त एजेण्डा नगरसभाको मिति तोक्नेबारे थियो।
मेयर साहले अन्य एजेन्डामा आइतबार दिउँसो २ बजेका लागि नगरसभा बोलाएका छन्।
यस्तै ९ बजे कार्यपालिका बैठक बोलाएका छन्। त्यसपछि उनले बैठक सकिएको घोषणा गरेका थिए। यी सबै कुरा मेयर साहले एक मिनेटमै सकाए।
‘काठमाडौँ महानगरपालिकाको ४०औँ कार्यपालिका बैठकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख ज्यू, कर्मचारीसाथीहरु, कार्यपालिकाका साथीहरु सबैलाई स्वागत गर्न चाहन्छु। एजेन्डामा २४ वटा गको भए पनि आज एउटा मात्र एजेन्डा राख्ने कुरा भएको छ। प्रस्ताव नम्बर एक मा रहेको काठमाडौँ महानगरपालिकाको १७औँ नगरसभा अधिवेशन मिति तोक्ने सम्बन्धमा मिति चाहिँ २९ गते दिउँसो २ बजे नगर सभा र बिहान नौँ बजे कार्यपालिका बस्ने प्रस्ताव पेश गर्न चाहन्छु। अन्य केही विषय नभएर बैठक सम्पन्न भयो घोषणा गर्दछु, धन्यवाद,’ बालेनले बैठक सकाए।









