विमानस्थल अध्यागमन कार्यालयमा ४५ नयाँ शाखा अधिकृत खटाइए



काठमाडौँ । गृह मन्त्रालयले ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए। विमानस्थल अध्यागमनमा १२१ जना अधिकृतको दरबन्दी छ।

‘लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीनदिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ,’ उनले भने, ‘अध्यागमन कार्यालयमा प्रमुखका रुपमा आउनुभएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ।’ विमानस्थलस्थित अध्यागमनको प्रमुखका रुपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रुपमा काम गरिसकेका सहसचिव हुन्।

केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो। त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ।

‘विमानस्थलबाट आएका अधिकृत मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,’ गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, ‘दरबन्दी भन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालय मार्फत बाहिर पठाउने काम हुन्छ।’

त्यस्तै सरकारले पुर्वमुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानविन समिति गठन गरेको छ।

उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्नेलगायत कार्यादेश दिइएको छ। समिति अहिले कार्यादेश अनुसार काम गरिरहेको छ।

को छ। समिति अहिले कार्यादेश अनुसार काम गरिरहेको छ।

प्रकाशित मिति : श्रावण ५, २०८२ सोमबार  १२ : ४२ बजे