काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी) ले आफ्नो एक वर्षको अवधिमा हासिल भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री सुडीले नीतिगत सुधारदेखि सेवामूलक कार्यक्रमसम्मका विविध क्षेत्रका उपलब्धिहरू प्रस्तुत गरेका हुन् ।
उनले नेपालको सामाजिक न्याय, समानता र मानव अधिकार प्रवद्र्धन गर्ने लक्ष्यसहित मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको संरक्षण, सशक्तीकरण र पुनस्र्थापनाका क्षेत्रमा ठोस काम गरेको बताएका छन् ।
मन्त्री सुडीका अनुसार एक वर्षको अवधिमा १३२ जना दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । त्यस्तै, हराएका ६५९० बालबालिकामध्ये ५८३१ जनाको पारिवारिक पुनर्मिलन तथा ३८३ बेवारीस बालबालिकाको उद्धार गरिएको छ । भारतमा फेला परेका ७१ नेपाली बालबालिकाको स्वदेश फिर्ती र पुनस्र्थापना पनि गराइएको छ ।
राष्ट्रिय अपाङ्ग कोषमार्फत २७२ थान सहायक सामग्री वितरण गरिएको छ भने अपाङ्गता भएका ७५ जना व्यक्तिले आवासीय पुनस्र्थापना सेवा पाएका छन् । अपाङ्गता नीति कार्यान्वयनका लागि विस्तृत कार्ययोजना मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।
भक्तपुर, मोरङ, कास्की र बाँकेका बाल सुधार गृहहरूको मर्मत सम्पन्न भइसकेको छ। अबदेखि यी चारवटा सुधार गृह सरकारद्वारा सञ्चालन गरिनेछ । ढकालटारमा नयाँ सुधार गृह भवन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।










