जब काँग्रेस सांसद सिटौला समितिमा कर्मचारीबिरुद्द जंगिए…



काठमाडौं । बुधवार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा एकाएक फरक दृश्य देखियो । नेपाली काँग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौला रिसाएको । धेरै काँग्रेसजनले समेत नेता सिटौला रिसाएको देखेका छैनन् तर समितिका सांसद सदस्यले आज त्यो रुप पनि देख्न पाए ।

समितिको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव शिशिर कोईरालाको अभिव्यक्तिमा सिटौलाको रोष देखिन्थ्यो । समितिमा जलश्रोत विधेयक, २०८१ को मस्यौदाउपर छलफल चलिरहेको थियो । समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सहसचिव कोईरालाले नदीनालाको पानी उपयोग गर्नका लागि सरकारले जल तथा उर्जा आयोगसँग अनुमति लिनुपर्ने आशयको अभिव्यक्ति दिए । सचिव कोईरालाले उपयोग सरकारले गर्ने भएपनि त्यसका लागि आयोगसँग अनुमति लिनुपर्ने र कति दिने त्यसको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयोगको हातमा साँचो हुनुपर्ने धारणा राखे

। स्थानीय, प्रदेश र संघ सरकारले आफ्नो मनोमानी ढंगले उपयोग गर्ने भए नियन्त्रण बाहिर जाने सहसचिव कोइरालाको आशय थियो । सहसचिव कोईरालाले बोलि नसक्दै सिटौलाको अनुहारमा आक्रोश आइसकेको थियो । सहसचिव बोलिसकेपछि सभापतिलाई रोकेर सिटौलाले प्रतिवाद गरे । काँग्रेस सांसद सिटौलाले कर्मचारीतन्त्रले मन्त्रीपरिषद्लाई नियन्त्रण गर्नेकुरा सह्य नहुने चेतावनी दिए। बैठकमा सबै हेरेर बसिरहेका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई संकेत गर्दै आफ्ना कर्मचारीहरुलाई बोल्ने तरिका सिकाएर पठाउन पनि आग्रह गरे।

उहाँले भने ‘हामी यहाँ सिंगारपटार गर्न, सारी किन्न खोजेको हो ? तपाईं त मन्त्रीपरिषद्लाई कन्ट्रोल गर्न खोज्दै हुनुहुन्छ । मन्त्रीपरिषद्लाई नियन्त्रण गर्ने तपाईं को ? तपाईंले कार्यसमिति लिएर आएर मन्त्रीपरिषद् नियन्त्रण गर्ने ? प्रदेश, स्थानीय सरकार कन्ट्रोल गर्ने ? अनि सरकारले के गर्ने ? यस किसिमको जवाफ नदिनुस् । घरमा लगेर पैसा दिने तपाईंहरु खर्च गर्ने हामी भयौँ त । तपाईं पिता हुनुभयो, हामी छोराछोरी भयौँ त ? मन्त्रीपरिषद्ले ब्युरोकेसी निर्माण गर्दछ की ब्युरोकेसीले मन्त्रीपरिषद् निर्माण गरेको छ ? संविधानले यो व्यवस्था निर्माण गरेको छ की के चलेको छ ? संविधान मान्नुहुन्न भने के मान्नुहुन्छ । तपाईंको जवाफ हुन सहमत हुन म सक्दिनँ । तपाईंले आफ्ना कर्मचारीलाई सिकाएर ल्याउनुस् । तपाईंले पैसा जम्मा गर्ने हामीले खर्च गर्ने जबरजस्ती यस तरिकाको प्रश्तुती सह्य हुँदैन । सबैकुरा तपाईंं ब्युरोक्याट्सले मन्त्रीपरिषद्लाई कन्ट्रोल गर्ने ? हुँदैन यसरी ।’

समितिको बैठकमा बुधवार जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल भएको हो । पछिल्लो समय संसदीय समितिमा यस प्रकारका नोकझोक प्राय देखिन्छ । समितिको छलफल बैठकमा आउने मन्त्रालयका उच्चतहका कर्मचारीले सांसदहरुलाई घुमाउरो तरिकाले हेप्ने भाषा प्रयोग गर्ने, केहि नजानेको वर्ग जस्तो प्रतिवाद गर्ने देखिन्छ । यता सांसदहरु पनि विषय र सन्दर्भमा अध्ययन र तयारि बिना आउने र छलफलमा सतही र आफुअनुकुलको विषयमात्र बोल्ने परिपाटीले द्वन्द्व निम्तिरहेको छ । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार  ८ : ०० बजे