वैकल्पिक वित्त कोष स्थापना गर्न ढिला नगरौंः ज्ञानेन्द्रबहादुर कार्की



काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गतिलाई तिब्र पारिनुपर्ने बताएका छन् ।

अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हून । उनले मुलुकको पूर्वाधार निर्माणका लागि निजी क्षेत्रको समेत सहभागिता हुनेगरी ल्याइएको कानून छिटो बनाइनुपर्नेमा जोड दिए ।

सरकारले वैकल्पिक विकासको योजनाहरु अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।

पूर्व अर्थमन्त्री कार्कीले भने– ‘नयाँ सोचका साथ वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि कानून ल्याइएको हो । चाँडोभन्दा चाँडो समितिबाट पास हुनुपर्छ । अहिले जुन तरिकाले समितिमा छलफल भएको छ, यो ढिलाइ भइरहेको छ । वैकल्पिक विकासको योजनाहरु अघि बढाउनुपर्छ ।’

सांसद कार्कीकाअनुसार अहिले देखिएको स्रोत अभावको समस्यालाई हटाउन र विकासमा निजी क्षेत्रको सहभागीता बढाउन वैकल्पिक वित्त कोष महत्वपूर्ण हुनेछ । विधेयकमा धेरै कुरा स्पष्ट रहेको उनले बताए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार  १ : ४३ बजे