संवैधानिक निकायहरुमा कैयौँ समस्या छन्, गुनासा राख्दै हिँड्नुपरेको छ, सुनुवाई भएनः महालेखा परीक्षक राया



काठमाडौं । महालेखा परीक्षक तोयम रायाले संवैधानिक निकायहरुमा पनि धेरै समस्याहरु रहेको बताएका छन् ।

बुधवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले समस्याहरुको चाङ भएपनि आफूहरुका गुनासाहरु सम्बोधन गर्ने अहिलेसम्म कोही नभएको बताएका हून् ।

अहिले संवैधानिक निकायको प्रशासनिक स्वायततामै धेरै समस्या रहेको रायाले बताए ।

महालेखा परीक्षक कार्यालय संवैधानिक निकाय भएपनि लेखापरीक्षकको मूल्यांकन मुख्यसचिवले गर्ने गरेकोमा रायाले प्रश्न उठाए ।

उनका अनुसार संवैधानिक निकायका प्रमुखले आफ्ना कर्मचारीको मूल्यांकन गर्न नपाउनु ठिक होइन । यसरी स्वायतत्ता मिच्दा लेखापरीक्षकले राम्रो नगर्दा उसलाई सजग बनाउन समेत आफूले नपाएको गुनासो गरे।

रायाले त्यस्तो ऐनहरु संसदले बनाइदिएको भन्दै सांसद्हरुप्रति आक्रोश पोखे । पार्टीको ह्विपमा सांसद्हरुले कानून नपढी पास गर्दा संवैधानिक निकायको स्वायत्ततामाथि नै प्रश्न उठ्ने स्थीति आएको उनको भनाइ छ ।

रायाले संवैधानिक निकायभित्रका समस्याका बारेमा संसदीय समितिहरुले छलफल चलाउन पर्ने बताउनुभयो । उहाँले एकएक समस्याहरु आफूले बताइदिने बताए ।

अहिलेसम्म संवैधानिक निकायभित्र रहेका समस्याहरु सुल्झाउने कोही नभएको बताउँदै महालेखा परीक्षक रायाले कानून बनाउने निर्माताहरुले गम्भीर रुपमा सोच्ने बेला आएको बताए ।

महालेखा परिक्षक रायाले भने ‘संवैधानिक निकायहरुका आआफ्नै समस्याहरु छन् । प्रशासनिक स्वायत्तता खोसिएको छ । कर्मचारीको सेवा सञ्चालन, लेखापरीक्षण सेवा भन्ने छ हामीसँग । त्यो लेखापरीक्षण सेवाको कर्मचारी महालेखा परीक्षकको कार्यालय भन्दा अन्त कतैपनि सरुवा हुन्न । त्यसको सेवा सञ्चालन अर्थमन्त्रालयले गर्छ । त्यो महालेखा परीक्षकलाई दिएको भए हुन्थ्यो । अर्को कुरा लेखापरीक्षकको कार्यसम्पादन मुल्यांकन मैले (महालेखा परीक्षक) ले गर्दिन । लेखापरीक्षकको कार्यसम्पादन मूल्य सचिवले गर्नुहुन्छ । सरकारले त्यो छोडेकै छैन् । कर्मचारीले राम्रो गर्दा त ठिक छ तर कहिँलेकाही नराम्रो गर्दा म कहाँ गएर कराउने हो ?’

उनले सार्वजनिक लेखा समितिमा समेत समस्याबारे जानकारी गराउँदा समेत अहिलेसम्म केही नभएको बताए। रायाका अनुसार संवैधानिक निकायका प्रमुखहरुले नै यसरी गुनासो गर्दै हिड्नुपर्ने अवस्था आउनु बिडम्बनापूर्ण रहेको बताउँदै आम नागरिकले गुनासो गर्नुलाई समेत अस्वभाविक रुपमा लिन नहुने बताए ।

आम नागरिकले सोसल मिडियामार्फत गाली गरेर भनेर के भन्ने भन्दै रायाले हरेक विषयमा गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको उनको भनाई रहेको छ । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार  ३ : ५० बजे