संसद अवरोध अन्त्यका लागि संवादको ढोका खुला राखेर जनताको मुद्दामा अघि बढ्छौँः रास्वपा



काठमाडों ।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद अवरोध अन्त्यका लागि संवादको ढोका खुला राखेर रास्वपा अघि बढिरहेको बताएका छन् ।

सभामुखुँग शुक्रवार सिंहदरबारमा भदौ महिनाको कार्यसूचिबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हून् ।

उनले सरकारले आफूहरुका मागहरु सुन्न नचाहेको भन्दै आफ्ना मागहरुप्रति सरकार गम्भीर बन्नुपर्ने बताए ।

सभामुख देवराज घिमिरेले त्यसको लागि पहल गरिदिएको पनि बताए ।

उनले सभामुखसँग भदौ महिनाको कार्यतालिका बनाउने विषयमा छलफल भएको पनि बताए । उनले आगामी दिनको संसद कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल गरेको बताए । त्यस्तै संसद भदौको ४,५ र ६ गते सञ्चालन गर्ने पनि बताए ।

उनले भने, ‘भदौ महिनाको कार्यतालिका बनाउनेबारे छलफल भयो । आगामी दिनको संसद कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भयो । भदौको ४,५ र ६ गते सभा सञ्चालन गर्ने र त्यसपछि सदन १५ पछि गर्ने र भदौ ४ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेबारे छलफल भयो । मुख्य कुरा सरकारले सुन्न चाहिरहेको छैन, हाम्रो मागप्रति सरकार सुन्न चाहँदैन । तर सभामुखज्युले त्यहाँ सबैको उपस्थिति भए राम्रो हुन्थ्यो भन्नुभयो । संवादको ढोका खुला राख्दै जनताको मुद्दामा अघि बढ्छौँ भनेका छौँ ।’

प्रमुख सचेतक परियारले सभामुख घिमिरेले सांसदहरु सबै उपस्थित भएर विधेयकहरुमाथि छलफल गर्दा राम्रो हुने बताएको पनि जानकारी दिए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार  १ : ४२ बजे