काठमाडौँ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ४५ मेगावाटको चुमचेत स्यार खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। आयोजनाबाट बिजुली उत्पादन इजाजत (लाइसेन्स) का लागि चिलिमेले विद्युत विकास विभागमा निवेदन दिएको हो।
विभागले चिलिमेलाई आयोजनाको लाइसेन्स दिन प्रक्रिया अघि बढाएको छ। कम्पनीले ३५ दिनपछि आयोजनाबाट बिजुली उत्पादन गर्न लाइसेन्स पाउनेछ। आयोजना नदीको प्रवाहमा आधारित (आरओआर) हो। आयोजना आगामी ४ वर्ष अर्थात् सन् २०२९ मा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
गोरखा जिल्लाको चुमनुव्री गाउँपालिकाको वडा नम्बर ५ र ६ मा आयोजना रहने गरी स्यार खोलाको पानीलाई उपयोग गरी बिजुली उत्पादन गर्ने लक्ष्य छ।
आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका साथै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तयार भइसकेको छ। चुमचेत स्यार खोला जलविद्युत आयोजनाको डिजाइन बहाव १३.८५ घनमिटर प्रति सेकेण्ड रहेको छ।
आयोजनाको कुल हेड ३८२ मिटरबाट पानी खसालेलर आयोजनाबाट वार्षिक सरदर २५ करोड ३१ युनिट बिजुली विद्युतिय ऊर्जा उत्पादन हुने चिलिमेले गरेको अध्ययनले देखाएको छ।
उत्पादित ऊर्जालाई २२० केभी सिङ्गल सर्किट विद्युत प्रसारण लाइन मार्फत बुढीगण्डकी प्रोक जलविद्युत आयोजनाको स्वीचिङ स्टेसनमा जोडिने छ। तत्पश्चात बुढीगण्डकी प्रोक जलविद्युत आयोजना, बुढी गण्डकी प्रोक–१ जलविद्युत आयोजना र चुमचेत स्यारखोला जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई ७० किलोमिटर लामो एकीकृत २२० केभी डबल सर्किट विद्युत प्रसारणलाइनमार्फत लापाङ बिहारथोक सवस्टेसनमा जोडिनेछ।














