काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय सभाकी सांसद मदनकुमारी साह गरिमाले आसन्न चीन भ्रमणमा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराबारे स्पष्ट धारणा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छिन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि चीन, भारतलगायतका ठूला मुलुकले हडप्न नसक्नेगरी चीनसँग दृढतापूर्वक अडान लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी हून् ।
सांसद साहले सो भ्रमणबारे राष्ट्रिय सहमतीका लागि सर्वदलीय बैठक राखेर प्रधानमन्त्री ओली चीन भ्रमणमा जान नचाहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् । राष्ट्रियता जोगाउने मामिलामा नेपालका राजनीतिक दलका नेताहरु एक ठाउँमा छन भन्ने सन्देश दिने गरी प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका गएको भए उचित हुने उनको भनाई थियो ।
सांसद साहले भने, प्रधानमन्त्रीज्यूको आसन्न चीन भ्रमणमा लिपुलेक, कालापानी, लिम्पियाधुराबारे नेपालको स्पष्ट धारणा दृढतापूर्वक राख्न अध्यक्षज्यूृमार्फत सम्माननीय प्रधानमन्त्रीज्यु समक्ष जोडदार माग गर्दछु । सीमा विवाद रहेको दुई ठूलो छिमेकी मुलुकहरुले हाम्रो सार्वभौमिकता र अखण्डतामा धावा बोलेको अवस्थामा राष्ट्रियताका विषयमा राष्ट्रिय सहमतीका साथ प्रधानमन्त्रीजीले सर्वदलीय बैठक बोलाएर यो विषयमा हामी सबै एकतावद्ध छौ भन्ने सन्देश लिएर जानु भएको भए अति उत्तम हुने थियो । तर हाम्रा सम्मानीय प्रधानमन्त्रीलाई एक्लै हिँडने बानी छ । सम्माननीय प्रधानमन्त्रीज्यु यसरी राष्ट्रियता जोगाउन सकिँदैन । सबैको साथ लिएर अघि बढने संस्कारको विकास गरौ भन्न चाहन्छु । भ्रमणको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।
सांसद साहले प्रधानमन्त्री ओलीको चीन भ्रमणको सफलताको कामना समेत गरिन् । —न्युज एजेन्सी नेपाल









