काठमाडौं ।नेपाली काँग्रेसकी सांसद सुशिला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिएकी छिन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद थिङले यस्तो चुनौती दिएकी हून् ।
सांसद गौतमले केही दिनअघि चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै संविधानबारे ज्ञान नभएकाहरु आफूलाई विधायिका भनेर घमण्ड गर्ने गरेको टिप्पणी गरिन् ।
सांसद थिङले संसदलाई बहिस्कार गरेर जाने नभई संसदभित्रै आवश्यक छलफल र बहस गरेर कसको ज्ञान कति भन्ने छिनोफानो गर्नुपर्ने टिप्पणी गरिन् । उनले संसदबाहिर गएर सांसदहरुको अपमान गरेर बोल्ने अधिकार कसले दियो ? भन्दै सांसद गौतमलाई प्रश्न समेत गरिन् ।
उनले भनिन्, ‘यस संविधानमा संसद बहिस्कार गरेर बाहिर जाने होइन । यँही बहस गरौं, छलफल गरौं । कसलाई संविधानसम्बन्धी कति ज्ञान रहेछ नापौं, जोखौँ, छिनोफानो गरौँ । सदनबाहिर गएर फ्याउरो जसरी कराएर सदनमा सांसदहरुको अपमान हुनेगरी बोल्ने अधिकार उहाँ (सोविता गौतम) लाई कसले दियो ? म उहाँलाई प्रश्न गर्न चाहन्छु ।’
उनले आफूहरु बैठक बहिस्कार गर्दै भत्ता बुझिरहेकाहरुले अरुलाई नैतिकताको पाठ सिकाउने कार्य सही नभएको तर्क पनि गरिन्। —न्युज एजेन्सी नेपाल









