काठमाडौं । निजामती विधेयकमा उमेरहदसम्बन्धी राखेको अडानबाट सरकार पछि हटेको छ ।
यस अघि आइतबार र सोमबार सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले समितिको पूर्ववत् निर्णय उल्ट्याउन अड्डी कसेकी थिइन्।
उनको प्रस्तावमा सत्तारुढ कांग्रेस र एमालेले समर्थन जनाउँदा संघीय निजामती विधेयक दुई दिनदेखि विधायन व्यवस्थापन समितिमा अवरुद्ध हुन पुगेको थियो।
मंगलबार बिहान बसेको बैठकमा मन्त्री न्यौपानेले प्रतिनिधि सभाले पारित गरेकै व्यवस्थालाई अनुमोदन गर्ने समितिको पूर्व निर्णयमा सहमति जनाएपछि निजामती विधेयकको विवाद टुंगिएको हो ।
प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर गरेर जाने निर्णय मन्त्री न्यौपानेको अभिव्यक्तिसँगै निजामती विधेयकमा परेको गाँठो फुकेको छ ।









