चोक–चोकमा निर्वाचन प्रहरीको तैनाथी र सुरक्षाको नयाँ कमाण्ड



काठमाडौं । आसन्न निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि देशभर निर्वाचन प्रहरीको परिचालन तिब्र पारिएको छ ।

अहिले राजधानीका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँका चोकहरूमा म्यादी प्रहरीहरू नीलो बर्दीमा सजिएर खटिएको देख्न सकिन्छ ।

नेपाल प्रहरीले उनीहरूलाई केवल सुरक्षा घेरामा मात्र सिमित नराखी, नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण, र निर्वाचन आचारसंहिता पालनाका विषयमा सुक्ष्म प्रशिक्षण दिइरहेको छ ।

प्रत्येक चोकमा खटिएका म्यादी प्रहरीहरूलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारहरूले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन् ।

यो परिचालनले सर्वसाधारणमा सुरक्षाको प्रत्याभुति गराउनुका साथै निर्वाचनको वातावरणलाई थप मर्यादित बनाउने विश्वास गरिएको छ ।

म्यादी प्रहरीहरूलाई निर्वाचनका दिन मतदान केन्द्रको सुरक्षा र मतदान प्रक्रियामा सहयोग पुयाउने मुख्य जिम्मेवारी दिइएको छ ।प्रत्येक चोकमा खटिएका म्यादी प्रहरीहरूलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारहरूले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन् ।

म्यादी प्रहरीको परिचालनले सर्वसाधारणमा सुरक्षाको प्रत्याभुति गराउनुका साथै निर्वाचनको वातावरणलाई थप मर्यादित बनाउने विश्वास गरिएको छ ।

सुरक्षा चुनौतीका खबर संकलन गर्दै त्यसलाई विश्लेषण गरी सुरक्षा रणनीति बनाएर काम गरिने सुरक्षा निकायको तयारी छ ।

होटल, लजहरुमा ‘डग स्नीफिङ’सहितको जाँच समेत सुरु गरिएको प्रहरीले बताएको छ । काठमाडौंका विभिन्न ठाउँहरुमा ‘सरप्राइज चेकिङ’ समेत सुरु गरिएको छ ।

नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्रले १५ हजार १ सय १० म्यादी प्रहरीहरूलाई गत माघ १८ गते नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए ।

प्रतिनिधि सभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि माघ २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको छ । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्ने भएका छन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिने भएको हो।

सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रहेर सुरक्षाको जिम्मेवारी सम्हाल्ने भएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८२ मंगलबार  ११ : ४३ बजे