इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता सुरु



काठमाडौं । पाकिस्तानको इस्लामाबादमा इरान र संयुक्त राज्य अमेरिकाबीच वार्ता सुरु भएको छ। तर अहिलेका लागि त्यो अप्रत्यक्ष रूपमा मध्यस्थकर्तामार्फत चलिरहेको बताइएको छ।

पाकिस्तानी सरकारी स्रोतले बीबीसीलाई अपराह्न ४ बजेबाट त्यस्तो वार्ता सुरु भएको बताएपनि त्यसको ढाँचाबारे खुलाएको छैन।

त्यसअघि वार्ताका लागि इस्लामाबाद पुगेका अमेरिकी उपरराष्ट्र जेडी भान्सले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका थिए।भान्ससँगै राष्ट्रपति ट्रम्पका विशेषदूत स्टीभ विट्कफ र राष्ट्रपतिका ज्वाइँ ज्यारेड कूश्नर सहभागी थिए।

प्रधानमन्त्री शरिफसँग देशका उपप्रधान तथा परराष्ट्रमन्त्री र आन्तरिक मामिलामन्त्री सहभागी थिए।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिका अनुसार उक्त वार्तामा पाकिस्तानी प्रधानमन्त्रीले इरान र अमेरिकाबीचको वार्ता उक्त क्षेत्रमा दीर्घकालीन शान्ति कायम गर्न कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन्।

त्यसअघि इस्लामाबाद पुगेका इरानका अधिकारीहरूले पनि पाकिस्तानका प्रधानमन्त्री शरिफसँग भेटवार्ता गरेका थिए।

त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन तर इस्लामाबादबाट इरानको सरकारी सञ्चारमाध्यममा समाचार सम्प्रेषित गरिरहेका एक संवाददाताले इरानका सर्तहरू अस्वीकार गरिएको खण्डमा वार्ता रद्द हुनसक्ने बताएकी थिइन्।

यसअघि ती संवाददाताले इरानी प्रतिनिधिमण्डलले सुरुमा पाकिस्तानका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने र त्यसपछि मात्रै अमेरिकी प्रतिनिधिमण्डलसँगको वार्ताको समयबारे थप प्रस्ट हुने बताएकी थिइन्।

छ हप्ता लामो युद्ध अन्त्य गर्ने प्रयासमा दुवै देशका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका हुन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिवार इस्लामाबाद पुगेका हुन् जहाँ उनलाई पाकिस्तानका विदेशमन्त्रीले स्वागत गरेका थिए।अमेरिकी टोलीको नेतृत्व गरिरहेका उपराष्ट्रपति जेडी भान्सले इरानलाई अमेरिकासँग खेलबाड नगर्न चेतावनी दिएका छन्।उपराष्ट्रपतिका रूपमा यसलाई भान्सको हालसम्मकै सबैभन्दा कठिन जिम्मेवारी ठानिएको छ।

अमेरिकी उपराष्ट्रपतिले २१ वर्षपछि पहिलो पटक पाकिस्तान टेकेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।

वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानका विदेशमन्त्रीले दुवै पक्षबीच सार्थक छलफल हुने विश्वास व्यक्त गरेका छन्।

इरानका सभामुख समेत रहेका वार्ता टोलीका नेता मोहम्मद बाकर कलिबाफले वासिङ्टनले सही सम्झौता प्रस्ताव गरे र आफ्नो मुलुकको अधिकार सुनिश्चित गरे तेहरान सहमतिका लागि तयार रहेको बताएका छन्।बीबीसी

प्रकाशित मिति : चैत्र २८, २०८२ शनिबार  ७ : २७ बजे