काठमाडौं । इरानले होर्मुज जलमार्गलाई पुनः बन्द गरेको छ ।
यसअघि इरानसँग सम्बन्धित पानीजहाजहरूमा अमेरिकाले नाकाबन्दी हटाउन अस्वीकार गरेका कारण आफूले पुनः उक्त जलमार्ग नियन्त्रणमा लिएको इरानी सेनाले बताएको छ ।
इरानको सबैभन्दा शक्तिशाली सुरक्षा निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सरकारी टेलिभिजनमार्फत युद्ध पूर्ण रूपमा समाप्त नहुन्जेल र सो क्षेत्रमा शान्ति कायम नहुन्जेल होर्मुज जलमार्गमार्फत हुने पारवहनको अनुगमन र नियन्त्रण लागु गर्न आफू दृढ रहेको बताएको छ।
उक्त विज्ञप्तिमा जलमार्ग पार गर्ने पानीजहाजका विवरण सङ्कलन गर्ने, पारवहन प्रमाणपत्र जारी गरिने र सेवा शुल्क तिर्न लगाइने समेत जनाइएको छ।
यसअघि इस्लामिक रिभोल्युश्नरी गार्ड कोर (आईआरजीसी)सँग आबद्ध फार्स समाचार संस्थाले आईआरजीसीको विज्ञप्तिलाई उद्धृत गर्दै इरानको सेनाले होर्मुज जलमार्गमाथि पुनः नियन्त्रण कायम गरेको उल्लेख गरेको थियो।
सेनाको विज्ञप्तिमा अमेरिकाले गरेको ुतथाकथित नाकाबन्दीुलाई सामुद्रिक डकैती भन्दै असन्तुष्टि जनाएको छ।
अमेरिकाले जलमार्गमाथिको नाकाबन्दी हटाउने वाचा पूरा नगरेकाले आफूले होर्मुज जलमार्ग फेरि बन्द गर्नुपरेको इरानी सेनाको भनाइ छ।
इरानले होर्मुज जलमार्गलाई पुनः बन्द गरेपछि कयौँ पानीजहाजहरूले आफूहरू आक्रमणमा परेको जानकारी दिएका छन्।
ओमानभन्दा २५ नटीकल माइल टाढा एउटा ट्याङ्कर र एउटा कन्टेनर पानीजहाजमाथि आक्रमण भएको हो।
उक्त ट्याङ्करका क्याप्टेनले ब्रिटेनको समुद्री सुरक्षा निकायलाई चालक दल र आफ्नो सवारी दुवै सुरक्षित रहेको जानकारी दिएका छन्। कन्टेनर पानीजहाजले भने आफ्नो कार्गोमा केही क्षति पुगेको विवरण दिएको छ।
होर्मुज जलमार्ग खुलेको घोषणा शुक्रवार गरिएपछि आकस्मिक रूपमा तेलको मूल्य घटेको थियो।
यसअघि मरिन ट्रयाकिङ डेटाहरूले चारवटा एलपीजी ग्यास बोकेका पानीजहाजहरू र कैयौँ तेल पेट्रोकेमिकल ट्याङ्करहरू उक्त स्ट्रेटबाट पार गरेर ओमानको खाडीमा अघि बढेका देखाएका थिए।बीबीसी














