पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने ३ जना प्रहरीको नियन्त्रणमा



काठमाडौं । काठमाडौंमा पेस्तोल देखाएर लुट्ने प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा विकेश राजवाहक, अरुण भुजेल र ललितपुरका हरिकृष्ण महर्जन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको एक थान पेस्तोल समेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनीहरुले १७ वैशाखमा इन्द्रचोकको एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिए । सो क्रममा पसलमा रहेकी महिलाले उनीहरुलाई प्रतिकार गर्दै भगाएकी थिइन् । उक्त भिडियो भाइरल बनेको थियो ।

प्रहरीका अनुसार उक्त दिन ज्वेलर्सबाट केही लुट्न नसके पनि सोही क्षेत्रको अर्को एक पसलमा भएको चोरीको घटनामा समेत यो गिरोहको संलग्नता हुन सक्ने देखिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको र उनीहरू यसअघि अन्य आपराधिक गतिविधिमा संलग्न भएरनभएको बारे खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार  १ : ३६ बजे