बजेट संविधान विपरित छैन, समतालाई केन्द्रमा राखेर अघि बढेका छौँः अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकारले समतलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको दाबी गरेका हुन् ।

विपक्षी दलहरुले संविधानको मर्मविपरित बजेट आएको भन्ने आरोपलाई उनले खण्डन गरे । उनले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको दाबी गरे। समन्यायिक समुन्नति र समृद्धिलाई लक्ष्य बनाएको उनको भनाई छ ।

उनले भने, ‘मैले बुझेको भाषा अथवा मेरो पाटीले बोकेको एजेण्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एकठाउँमा रह्यो तर पाँच वर्षसम्मको लागी हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेण्डालाई नै हो, त्यसप्रति अत्यत्तै बफदार रहेर हामीले कार्यक्रमहरु अगाडी बढाएका छौँ । १०० वटा शासकीय सुधार, नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट सबै अभुतपूर्व कस्सिटेन्सी छ, एउटा संगती छ, यसलाई त्यही कोणमा हेरिदिनुहोला । हाम्रो विगत ३०र४० वर्षको राजनीति अलि वाम प्ररित नै थियो, त्यो भाष्यमा गडेर पनि बसेको छ, त्यसबाट हामीले प्रेरणा पनि लिएका छौँ । संविधानको खिलापमा भयो भन्ने कुरा विलकुल गलत छ, समतालाई हामीले केन्द्रविन्दुमा राखेका छौँ । ग्रोथको कुरा गर्दैगर्दा पनि ग्रोथ वीथ ईक्वीटिको कुरा हामीले गरेका छौँ । समन्यायिक समुन्नती, समृद्धिका कुरा गरेका छौँ । त्यसैले ठ्याक्कै समाजवाद भन्ने शब्द नपरेपनि समताको एजेण्डालाई हामीले अगाडी सारेका छौँ ।’

बजेटमा समाजवाद शब्द स्पष्ट रूपमा उल्लेख नभएपनि समताको एजेण्डालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको उनले बताए ।

प्रकाशित मिति : जेष्ठ २८, २०८३ बिहीबार  ४ : ५५ बजे