अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सस्तियो, नेपालमा किन घटेन मुल्य ?



काठमाडौँ । विश्वबजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । बिहीबार कच्चा तेलको मूल्य चार महिनायताकै सबैभन्दा तल्लो स्तरमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य मापन गर्ने विश्वव्यापी मानक ब्रेन्ट क्रूडको मूल्य बिहीबार केही समयका लागि प्रतिब्यारेल ७२.४८ डलरमा झरेको छ । यो मूल्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुभन्दा एक दिनअघि (गत फेब्रुअरी २८) कै विन्दुमा आइपुगेको हो । यद्यपि, प्रारम्भिक गिरावटपछि बजार बन्द हुँदा मूल्यमा सामान्य सुधार भई प्रतिब्यारेल ७२.६३ डलर कायम भएको छ ।

गत जुन १७ मा अमेरिका र इरानबीच एउटा महत्त्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएसँगै विश्वव्यापी इन्धन बजारले राहत पाएको हो । उक्त सम्झौतापछि कच्चा तेल र ग्यास ढुवानीका लागि विश्वकै रणनीतिक मानिने जलमार्ग स्ट्रेट अफ होर्मुजमा ढुवानी पुनः नियमित भएको छ ।

इरान र इजरायल अमेरिका तनावका कारण यो महत्त्वपूर्ण जलमार्ग झन्डै बन्दको अवस्थामा पुगेको थियो, जसले गर्दा विश्वबजारमा इन्धनको मूल्यमा तीव्र उतारचढाव आएको थियो । जलमार्ग पुनः सञ्चालनमा आएसँगै आपूर्ति सहज हुँदा तेलको मूल्य ओरालो लागेको विश्लेषकहरू बताउँछन् ।

विश्वबजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएर चार महिनायताकै सबैभन्दा तल्लो स्तरमा पुगे पनि नेपालमा भने पहिलेकै मुल्य कायम छ ।

विश्वबजारमा कच्चा तेलको मूल्य घटेर तल्लो बिन्दुमा आइपुग्दा पनि नेपालामा नघटेपछी उपभोक्ताले सरकारको आलोचना गर्न थालेका छन ।

आम नागरिक र उपभोक्ताको आक्रोश बढेसगै अब नेपालमा पनि मुल्य घट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : असार ११, २०८३ बिहीबार  ८ : ०३ बजे