काठमाडौं । जेनजी अभियानी माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।
जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा सरकार, गृह प्रशासन र प्रहरी विरूद्ध उजुरी दिएको हो ।
गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा खटिएको प्रहरी टोलीले ओजस्वी थापाको प्रत्यक्ष निर्देशनमा अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिएको अलायन्सको गम्भीर आरोप छ। अलायन्सले थापाले त्यस दिन प्रहरीलाई नियन्त्रण र परिचालन गर्न सक्रिय भूमिका खेलेको दाबी गरेको छ।
अलायन्सका अनुसार उक्त घटनाले संविधानको धारा १६, १७, २० र २२ ले प्रत्याभूत गरेका सम्मानपूर्वक बाँच्न पाउने हक, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने स्वतन्त्रतालगायत मौलिक हकको उल्लङ्घन गरेको दाबी गरिएको छ।














