काठमाडौँ उपत्यकामा निरन्तर वर्षा हुने, नदीकिनारका बासिन्दालाई सतर्क रहन आग्रह



काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा डुबानको जोखिम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले उपत्यकाका विभिन्न क्षेत्रमा डुबानको खतरा औंल्याउँदै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अपिल गरेको छ।

महाशाखाका मौसमविद् विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा हुने र यहाँका नदीखोलाहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जानकारी दिए।

वर्षाका कारण नदीको बहाव बढ्ने भएकाले नदीकिनारका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन उनले अनुरोध गरेका छन्।

मौसमविद् पराजुलीका अनुसार विशेषगरी उपत्यकाका होचा स्थान, नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ।

देशभर नै मनसुन सक्रिय रहेकाले अधिकांश स्थानमा भारी वर्षाको सम्भावना बढेको भन्दै महाशाखाले आम नागरिकलाई मौसम तथा बाढीसम्बन्धी पछिल्लो सूचनामा अद्यावधिक रहन र पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : श्रावण २, २०८३ शनिबार  १० : १० बजे