मुलुकभर सक्रिय रहेको मनसुनका कारण विगत २४ घण्टामा भएका विभिन्न विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यस अवधिमा देशभर कुल ४२ वटा विपद्जन्य घटनाहरू दर्ता भएका छन् ।
प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार साउन १ गते बिहान १० बजेदेखि २ गते बिहान १० बजेसम्म १४ जिल्लाका २२ स्थानमा पहिरो गएको छ । पहिरोमा परी एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन् । अन्य दुई जनाको भने सकुशल उद्धार गरिएको छ ।
यसै अवधिमा पाँच जिल्लामा सर्पदंशका ६ वटा घटना भएका छन्, जसमा ६ जना घाइते भएका छन् । त्यस्तै, आगलागीका ६ वटा घटनामा एक जना घाइते भएका छन् ।














