काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गहरूको प्रयोग गर्न अनुरोध गरेको छ।
बाढीपहिरोका कारण बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। यस खण्डमा साँझ ६: बजेदेखि बिहान ४:बजेसम्म सवारी साधन चलाउन पाइने छैन भने दिउँसोको समयमा सडकको स्थिति मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।
त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। यता, शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा पनि राति १०: बजेदेखि बिहान ५: बजेसम्म रात्रिकालीन सवारी साधन चलाउन रोक लगाइएको छ।









