गरिमा चौधरी मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय नारी समाजको माग



काठमाडौं । बारा, जितपुरकी तीन वर्षीया बालिका गरिमा चौधरीको मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय नेपाली नारी समाजले माग गरेको छ।

अन्तर्राष्ट्रिय नेपाली नारी समाजले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई संस्थाकी संस्थापक सदस्यसमेत रहेकी सीता श्रेष्ठ सिवानीमार्फत इमेलबाट ज्ञापनपत्र बुझाएको हो।

गरिमा घटनाको अनुसन्धान स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा वैज्ञानिक ढंगबाट गर्नुपर्ने समाजको माग छ। अनुसन्धानका क्रममा कुनै पनि राजनीतिक, आर्थिक वा अन्य दबाब हुन नहुने भन्दै घटनासँग सम्बन्धित प्रमाण सुरक्षित राखी आवश्यक फरेन्सिक तथा वैज्ञानिक परीक्षण गर्न पनि समाजले माग गरेको छ।‘दोषी जोसुकै भए पनि प्रमाणका आधारमा प्रचलित कानूनबमोजिम कडा कारबाही हुनुपर्छ,’ अन्तर्राष्ट्रिय नेपाली नारी समाजकी अध्यक्ष पुनम गौतमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ।

समाजले पीडित परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा आवश्यक कानूनी, मनोसामाजिक र मानवीय सहयोग उपलब्ध गराउन पनि माग गरेको छ।त्यस्तै, बालबालिका हराउने, बेचबिखन तथा उद्धारका घटनालाई सम्बोधन गर्न प्रभावकारी राष्ट्रिय संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नुपर्ने माग समाजको छ।


बालबालिका तथा महिलामाथि हुने हिंसा, यौन दुर्व्यवहार, अपहरण र हत्याका घटना रोक्न प्रहरी, स्थानीय तह, विद्यालय तथा समुदायबीच प्रभावकारी समन्वय र नियमित निगरानीको व्यवस्था गर्नुपर्ने पनि समाजले जनाएको छ।

ज्ञापनपत्रमा ‘हामीलाई आश्वासन होइन, परिणाम चाहिन्छ। औपचारिकता होइन, पारदर्शिता र जवाफदेहिता चाहिन्छ’ भन्दै घटनाको अनुसन्धानमा कुनै किसिमको दबाब वा हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरिएको छ।गरिमा चौधरीको मृत्युको सत्यतथ्य सार्वजनिक गरी परिवारलाई न्याय दिलाउन सरकार तथा सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने समाजको माग छ।

ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय नेपाली नारी समाजकी अध्यक्ष पुनम गौतमसहित विभिन्न देशमा रहेका समाजका पदाधिकारी तथा प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : भाद्र २१, २०८३ आईतबार  ७ : ५५ बजे