भाडादर घटाउन वायुसेवा कम्पनी तयार



काठमाडौँ, असोज २२ गते । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ९गनेश० को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन् ।

नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाउनुभएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो । उक्त छलफलपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र गराउने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएको क्यानले जनाएको छ ।

क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्रीवितरण गर्ने र सो भाडादरबारे सूचना सम्बन्धित कम्पनीको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ ।

चाडपर्वको समयमा आन्तरिक हवाई यात्रुको चाप अत्यधिक बढ्ने र त्यसको फाइदा उठाउँदै वायुसेवा कम्पनीहरूले अधिकतम भाडादरमा मात्र टिकट उपलब्ध गराउने गरेको गुनासो प्राधिकरणमा प्राप्त भएको थियो । सोही गुनासोका आधारमा प्राधिकरणको प्रधान कार्यालय सिनामंगलमा महानिर्देशक र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच छलफल गरिएको हो ।

प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीलाई बिहीबार भएको सहमति अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । साथै, सहमतिअनुसारको भाडादर आफ्ना टिकट बिक्री तथा वितरणका माध्यममा सार्वजनिक गर्न समेत भनिएको छ । रासस

प्रकाशित मिति : आश्विन २२, २०८३ बिहीबार  ७ : ३३ बजे